राजधानीको सर्वाधिक सवारी चाप हुने कोटेश्वर–तीनकुने सडकखण्डमा आकाशे पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। दैनिक करिब डेढ लाख सर्वसाधारण हिँड्डुल गर्ने यस क्षेत्रमा तीव्र गतिको सवारीसाधनका बीचबाट बाटो काट्नुपर्दा दर्जनौँले ज्यान गुमाइसकेका छन् भने सयौँ घाइते भएका छन्।
अनलाइन आवाजको 'नागरिक आवाज' टिम स्थलगत रूपमा कोटेश्वर चोक पुग्दा स्थानीय बासिन्दा, विद्यार्थी र वृद्धवृद्धाहरूले चर्को आक्रोश पोखे। स्थानीय व्यापारी भन्छन्— 'नेता र मन्त्रीहरू यहीँ बाटो भएर झण्डा हल्लाउँदै हुइँकिन्छन्, तर सर्वसाधारणले बाटो काट्न १५ मिनेट कुर्नुपर्ने र ज्यानको बाजी लगाउनुपर्ने अवस्था कसैले देख्दैन।'
सडक डिभिजन कार्यालयले ठेकेदार कम्पनीलाई पटक-पटक म्याद थप गरे तापनि कार्यप्रगति २० प्रतिशत पनि नाघेको छैन। ठेकेदारको लापरबाही र सरकारी निकायको कमजोर अनुगमनका कारण राज्यको करोडौँ लगानी बालुवामा पानी भएको नागरिक अगुवाहरूको ठहर छ।
अनलाइन आवाजले यस विषयमा सडक विभागका महानिर्देशक र स्थानीय जनप्रतिनिधिसँग सिधा प्रश्न गरेको छ। जनताको प्रत्यक्ष आवाज, पीडा र आधिकारिक निकायको जवाफ समेटिएको अडियो पोडकास्ट तल सुन्न सकिनेछ।
