'दिनभर पसिना बगाएर ५-६ सय रुपैयाँ कमाइन्छ, तर बेलुका तरकारी बजार जाँदा एक मुठा साग र आधा किलो आलु किन्दा नै पैसा सकिन्छ,' कालिमाटी तरकारी बजारमा भेटिएका भरिया रामबहादुर तामाङले आँखा रसाउँदै आफ्नो कथा सुनाए। पछिल्ला महिनाहरूमा चामल, दाल, तेल र तरकारीको भाउ अस्वाभाविक रूपमा बढ्दा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ।
बजार भाउ मात्र होइन, राजधानी लगायत मुख्य सहरहरूमा सार्वजनिक यातायातको अस्तव्यस्तता र सरकारी कार्यालयहरूमा सामान्य काम गराउन पनि बिचौलियाको भर पर्नुपर्ने बाध्यता कायमै छ। वीर अस्पताल र कान्ति बाल अस्पतालमा बिहान ५ बजेदेखि टिकटका लागि लाइन लाग्दा पनि दिउँसोसम्म डाक्टर भेट्न नसकिने नागरिकहरूको साझा पीडा छ।
अनलाइन आवाजको 'नागरिक आवाज' अभियानमा सर्वसाधारणहरूले सरकारसँग कुनै ठूला महल वा सहुलियत मागेका छैनन्— उनीहरूको माग छ केवल: 'बजारको कालोबजारी रोकिदिनुस्, अस्पतालमा डाक्टर र औषधि सहज बनाइदिनुस्, र हामीलाई सुरक्षित सार्वजनिक यातायात दिनुस्।'
